२२ वर्षको उमेरमा ५ छोराछोरीका आमाबाबु
|
तनहुँ, असार ३१ ‘विवाहवारी १४ वर्ष वारी' भन्ने यो उखान सहरीया र सम्पन्न परिवारका लागि नौलो भए तापनि तनहुँको भुजेल गाउँका बस्तीका लागि भने खासै नौलो होइन। जिल्लाको पुरानो सदरमुकाम बन्दिपुर गाउँ विकास समिति-८ र आँवुखैरेनी गाविस-१ मा रहेको भुजेल बस्तीका बालबालिका १४ वर्ष पुग्नु अगावै बिहे गरेर छोराछोरीको आमाबाबु बन्ने गरेका छन्।
स्थानीय भरत भुजेलले १४ वर्षको उमेरमा विवाह गर्नु भनेको उमेर पक्का भएको मानेर विवाह गर्ने गरिएको बताउनुभयो। ‘आफ्नो छोराले १५ वर्षको हुँदा १३ वर्षको केटीसँग विवाह गर्यो'-स्थानीय सोमबहादुर भुजेलले भने-‘अहिलो छोरो २० वर्षको हुँदा पाँचजना छोराछोरीको बाबु बनिसकेको छ।' हाम्रो पालामा त अझै कलिलो उमेरमा विवाह गर्ने चलन थियो, अहिले १४ वर्षमा विवाह गर्नु कुनै नौलो कुरा नभएको उनी बताउँछन्।
कानुनअनुसार विवाहको लागि केटाकेटीको उमेर २० वर्षभन्दा माथि हुनुपर्ने प्रावधान रहे पनि यस क्षेत्रमा पुरानै सोचका आधारमा विवाह गरिने पराम्परा कायम रहेको पाइन्छ। गरिबी, बेरोजगार, अशिक्षा र अन्धविश्वासको भुँवरीमा रुमल्लिएका यी गाउँका बालिकाको सानै उमेरमा विवाह गर्नु रहर नभई बाध्यता रहेको छ।
सानै उमेरमा विवाह गरेकी सीमा भुजेलले भनिन्-"यहाँको त चलन नै यस्तै हो, पढ्ने रहर हुँदाहुँदै पनि बाबुआमाको भनाइलाई मान्नुपर्ने र विवाह गर्नुपर्ने चलन छ।" आफूले १३ वर्षको उमेरमा विवाह गरेको र अहिले २२ वर्षको हुँदा एक छोरा र दुई छोरीको आमा बनिसकेको उनले बताइन्।
तनहुँको पृथ्वी राजमार्गदेखि करिब दुई किलोमिटर दूरीमा रहेको यस बस्तीमा बालविवाह गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि परम्परागत सोचका कारण यो प्रथालाई हटाउन नसकिएको अर्का स्थानीय रामबहादुर भुजेलले बताए।
उक्त बस्ती जिल्ला सदरमुकाम दमौलीबाट टाढा नभए पनि त्यस भेगका बालबालिकाको हकहितमा आवाज उठाउने कोही नभए जस्तो बनेको छ।
रासस
|




