मुस्ताङ प्रहरी कार्यालयमा ढुंगामुढा
![]() |
बाग्लुङ, चैत ६ - (नागरिक) - मृत भेटिएका मुस्ताङका एक वृद्धको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।
दुई साताअघि मृत भेटिएका कागबेनी-६, पाङलिङका ६८ वर्षीय पेम्बा विष्टका हत्यारालाई प्रहरीले पत्ता लगाउन नसकेको भन्दै आफन्त एवं स्थानीय प्रदर्शनमा उत्रिएका थिए।
घटनाको अनुसन्धान ढिलो भएको भन्दै तत्काल अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्नुपर्ने आफन्तको माग छ। बिष्टलाई गत फागुन १९ गते साँझ अज्ञात व्यक्तिले घरबाट नियनत्रण लिई रहस्मय रुपमा हत्या गरी फालेको प्रहरीले जनाएको छ। पेम्बाको शव जोमसोम-५ स्थित कालीगण्डीको किनारमा क्षतविक्षत अवस्थामा भेटिएको थियो। विष्ट घरमै बसेको अवस्थामा अपरिचत दुई व्यक्तिले खाना खाने ठाउँ देखाइदिन भन्दै हिँडाएर कब्जामा लिएको स्थानीयले प्रहरीलाई बताएका छन्।
शव फेला परेको यतिका दिन बिते पनि प्रहरीले घटनाको वास्तविकता सार्वजनिक नगरेको भन्दै स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गरेका हुन्। पुथाङदेखि सुरु भएको प्रदर्शन जोमसोम हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको थियो। घटनाको अनुसन्धान भइरहेको अवस्थामा आक्रोशित स्थानीयले ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी वसन्त रञ्जितले बताए।
घट्नामा संलग्न रहेको उजुरीको आधारमा चारजनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। घटनामा ६ जना संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको अनुसन्धान अधिकृत राजेन्द्र पोखरेलले बताए। 'चारजनालाई पक्राउ गरिसकेका छौं,' पोखरेलले भने, 'उनीहरूको बयानको आधारमा अन्यको पनि खोजी भैरहेको छ।' पोखरेलका अनुसार मृतकको पोष्टमार्टम गरी केही भाग परीक्षणका लागि काठमाडौं पठाइएको छ।
घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै आन्दोलित स्थानीयले प्रमुख जिल्ला अधिकारी ईश्वराज रेग्मीलाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्र बुझ्दै प्रजिअ रेग्मीले अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढेको बताए।
यसअघि २०६६ सालमा छुसाङका तेताङ किक्याप गुरुङ र टसी वाङ्दी गुरुङको रहस्यमय हत्या भए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। २०६८ सालमा छुसाङकै साङ्गा लामा तथा कागबेनी गाविसमा ढिन्डुक गुरुङको हत्या भए पनि हालसम्म हत्यारा पत्तालाग्न सकेका छैनन्।
![]() |