देशभर विभिन्न मितिमा चुनाव गर्न गृहमन्त्रीलाई प्रहरीको सुझाव

काठमाडौं, चैत ७  - असारमा हुने भनिएको संविधान सभा निर्वाचन चरणबद्ध गराउन प्रहरीले सरकारलाई सुझाव दिएको छ। प्रहरी प्रधान कार्यालय निरीक्षणमा पुगेका गृहमन्त्री माधवप्रसाद घिमिरेलाई चुनावकेन्द्रित योजना सुनाउँदै प्रहरी नेतृत्वले चरणबद्ध निर्वाचनका सहजताबारे अवगत गराएको थियो। 
'एकै चरणमा निर्वाचन गर्दा भौतिक र जनशक्तिसमेत कमी हुने' भन्दै प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले संगठन र निर्वाचनकेन्द्रित सुरक्षा योजनाबारे जानकारी गराएका थिए। निर्वाचनका लागि जनशक्ति अपुग हुने भएकाले विकल्पमा म्यादी प्रहरी भर्ना गर्नुपर्ने उनको प्रस्तुतिमा थियो। म्यादी प्रहरी भर्नाका चुनौतीसँगै पोसाक, तालिम, भत्तालगायत खर्च बढ्ने भएकाले सो खर्च प्रहरी संगठनको भौतिक विकासमा प्रयोग गर्न चरणबद्ध निर्वाचन उपयुक्त हुने उनको सुझाव थियो। 
अहिलेको अवस्थामा एकै चरणमा निर्वाचन हुँदा एक लाख जनशक्ति नपुग्ने, सुरक्षाकर्मी परिचालन गर्न ठूला तथा साना गाडी, हतियारलगायत भौतिक सामग्री आवश्यक रहेको प्रहरीले जनाएको छ। ब्रिफिङमा संलग्न अन्य उच्च प्रहरी अधिकारीले समेत म्यादी प्रहरी भर्ना गर्नुभन्दा चरणबद्ध निर्वाचन सुरक्षाका दृष्टिले उपयुक्त हुने सुझाव दिएको स्रोतले जनाएको छ। 
आइजिपी रानाको प्रस्तुति र उच्च प्रहरी अधिकारीहरूको सुझावपछि गृहमन्त्री घिमिरेले सरकारले निर्वाचनको आवश्यक प्रवि्र्कया अगाडि बढाइसकेको बताउँदै तयारी अवस्थामा रहन निर्देशन दिए। 'यो प्रारम्भिक तयारी हो,' गृहमन्त्रीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'यसबारे विस्तृत योजना बनाउनुस्, अनि पुनः छलफलमा बसौंला।'
ब्रिफिङमा सहभागीका अनुसार स्वच्छ, स्वतन्त्र र भयमुक्त निर्वाचनका लागि सबै कोणबाट तयार रहन उनले निर्देशन दिएका थिए। प्रहरीलाई आवश्यक भौतिक साधनस्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग समेत सरकारले आग्रह गर्नसक्ने उनले जनाए। 'प्रहरीको जनशक्ति र भौतिक सुविधाबारे अघिल्ला सरकारले पनि प्रतिबद्धता जनाएका थिए होलान्,' गृहमन्त्री घिमिरेले निर्देशन क्रममा भने, 'तर म प्रतिबद्धता मात्र जनाउन आएको होइन, भनेको कुरा गर्छु पनि।'
आइजिपी रानाले नयाँ हतियारको आवश्यकतासमेत प्रस्तुतिमा जताएपछि गृहमन्त्रीले 'नयाँ हतियार हो वा अन्य केही आवश्यक पर्ने हो भन्ने निर्क्योल गर्न' सुझाव दिएका थिए। प्रहरीसँग कानुनी र सशस्त्र दुवै हतियार भए पनि कानुनी हतियारलाई समयानुकूल परिमार्जन गर्न उनले निर्देशन दिए। प्रहरीलाई राज्यले करिब एक हजार काम, कर्तव्य र अधिकार सुम्पेकाले आधारभूत निर्देशिका बनाई तल्लो तहसम्म पुर्यााए काम सजिलो हुने घिमिरेको सुझाव थियो। 
सुरक्षा र अपराध अनुसन्धानको विकल्प हुन नसक्ने उल्लेख गर्दै तत्काल चमत्कार हुनेभन्दा पनि शान्तिसुरक्षा कायम गर्ने काममा गतिशील हुन प्रहरीको ध्यानाकर्षण गराए। 
'ब्रिफिङ'अघिको सामूहिक सम्बोधनमा प्रहरी महानिरीक्षक रानाले मुलुक संविधानसभा निर्वाचन गर्ने चरणमा रहेकाले अपेक्षित-अनपेक्षित सुरक्षा चुनौती बढेको बताएका थिए। 'जस्तोसुकै परिस्थितिमा पनि देशका दूरदराजसम्म खटिएर शान्तिसुरक्षा र अमनचयनको प्रत्याभूति गराउँदै भयमुक्त भएर मतदानमा भाग लिने वातावरण बनाउन संगठन सक्षम र प्रतिबद्ध रहेको छ,' रानाको भनाइ उद्धृत गर्दै एक सहभागीले भने।