कार्कीको नियुक्ती प्रक्रिया रोक्नू : सर्वोच्च


काठमाडौ, चैत्र ९ - सर्वोच्च अदालत ले लोकमानसिंह कार्की लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने प्रक्रिया रोक्ने आदेश दिएको छ । न्यायाधीश शुशिला कार्कीको एकल इजलाशले आगामी २५ गतेसम्मका लागि प्रक्रिया रोक्नको लागि आदेश दिएको हो ।
अदालतले २५ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ । सर्वदलीय राजनीतिक समितिले अन्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा कार्कीलाई नियुक्ती गर्न सरकार समक्ष सिफारीश गरेपछि प्रक्रिया रोक्न रिट परेको थियो ।
अधिवक्ता ओमप्रकास अर्यालद्वारा दायर रिटमा अख्तियारले नै अयोग्य ठहर्‍याएका कार्कीको नियुक्ति संविधानविपरीत रहेको जिकिर गरिएको छ । रिटमा कार्कीलाई अख्तियारमा नियुक्ति गर्न खोज्नु जनतामाथिको धोका हुने उल्लेख छ । कार्की शाहीकालका मुख्य सचिव हुन् ।
कार्कीलाई अख्तियारमा नियुक्त गरे हटाउने वैधानिक संस्था संसद् नभएको र राजनीतिक प्रतिशोधको शिकार हुनुपर्ने अवस्था आउनसक्ने रिटमा भनिएको छ । उनलाई यसअघि अख्तियारले नै कुनै पनि सरकारी सेवामा अयोग्य घोषणा गरेको थियो ।