असारमा चुनाव हुनेमा दाहाललाई शंका

काठमाडौं, चैत ८ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी असारमा संविधानसभा दोस्रो निर्वाचन हुनेबारे सन्देह व्यक्त गरेका छन्। बुधबार सुरु केन्द्रीय समिति बैठकमा राजनीतिक परिस्थितिबारे केन्द्रीय सदस्यसामु धारणा राख्दै अध्यक्ष दाहालले यस्तो सन्देह राखेका हुन्। 'हामी त असारमा संविधानसभा निर्वाचन होस् भन्ने चाहन्छौं, तर कांग्रेस/एमाले अझै तयार छैनन्,' अध्यक्ष दाहालले बैठकमा भने, 'तर, हामी भने दिलोज्यानका साथ चुनावमा जानुपर्छ।' उनले केन्द्रीय सदस्यहरुलाई चुनावी वातावरण बनाउन निर्देशन पनि दिए।
अध्यक्ष दाहालले बैठकमा क्रमशः एकीकृत माओवादी एजेन्डा मुलुकमा लागू दाबी पनि गरेका छन्। लडाकुलाई कर्णेल बनाउने, प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउनेजस्ता विषयले पार्टीले जित्दै गएको उनको भनाइ थियो। 'कर्णेल र प्रधान न्यायाधीश नेतृत्वको सरकार निर्माणजस्ता विषयमा पार्टीले जित्दै गएको देखिएको छ, अब चुनावमा पनि यसैगरी जित्नुपर्छ,' दाहाललाई उद्धृत गर्दै एक केन्द्रीय नेताले भने।
महाधिवेशन भएको करिब डेढ महिनापछि केन्द्रीय समिति बैठक सुरु भएको हो। बिहीबार बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, स्थायी/पोलिटब्युरो समिति गठन गर्ने, विभाग र ब्युरोको जिम्मेवारी बाँडफाँट गर्ने एजेन्डामा प्रवेश गर्दैछ। राज्यसमितिका इन्चार्ज र सेक्रेटरी परिवर्तन गर्ने योजना एमाओवादीको छ। महाधिवेशनमा ९८ जनालाई केन्द्रीय समितिमा चयन गरे पनि १ सय ५१ सदस्यीय केन्द्रीय समितिमा माओवादीले थप ५३ जनालाई ल्याउन बाँकी छ।
यता, संविधानसभा निर्वाचन प्रयोजनका लागि घोषणा पत्र लेखन तथा उम्मेदवार चयनका लागि छुट्टाछट्टै दुई समिति गठन गरिएको छ। घोषणापत्र लेखनमा उपाध्यक्ष बाबुराम भट्टराई र उम्मेदवार चयनमा महासचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा समिति गठन गरिएको हो। भट्टराई संयोजकत्वको समितिमा कृष्णबहादुर महरा, लेखराज भट्ट, गोपाल किराँती, विश्वभक्त दुलाल, विश्वनाथ साह, डिल्लीराज खनाल, शशि श्रेष्ठ, धर्मभक्त देवकोटा सदस्य छन्। बोगटीको समितिमा लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, हिसिला यमी र प्रभु साह सदस्य छन्।