अस्पतालमा कर्मचारी भर्ना गर्न घूस !


२४ फागुन, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतालमा घूस लिएर धमाधम कर्मचारी भर्ना गर्न थालिएको छ । अस्पताल विकास समितिका अध्यक्ष बाबुलाल यादब र मेडिकल सुपरिटेन्डेन्ट डा. अखिलेश सिंहको मिलेमत्तोमा यसै महिनामा ४२ जनाभन्दा बढी कर्मचारीलाई प्रक्रिया पूरा नगरी भर्ना गरिएको अस्पताल सम्बद्ध श्रोतले बताएको छ ।
नियुक्ति पाएकामा समिति अध्यक्ष यादबका दुई छोरा, सदस्यद्वय विपीन यादब र रेखा घिमिरेका परिवारका सदस्यसमेत छन् । यही फागुन ९ गते बसेको समितिको निर्णयका आधारमा १०, ११, १२, १३ गते नियुक्ति पाएकाहरुको नामावली अस्पताल प्रशासनले गोप्य राखेको छ ।
-->

कर्मचारी युनियनले विरोध गरे पनि गोप्य रुपमा भर्ना जारी छ । समितिका सदस्यसचिवसमेत रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले जनही डेढ लाख रुपैयाँ घूस लिएर कर्मचारी भर्ना गरेको आरोप कर्मचारी युनियनले लगाएको छ । डा. सिंहले करार सेवामा कर्मचारी भर्नाका लागि आफ्नै कार्यकक्षमा एक युवकसँग डेढ लाख रुपैयाँ घूस मागेको अडियो रेर्कड सुरक्षीत रहेको बिहीबारको अन्नपूर्ण पोष्टमा खबर छ । गत पुसमा सरुवा भएर आउनुअघि जिल्ला अस्पताल रौतहटमा कार्यरत डा. सिंह विदेशी अनुदानको चारसय झुल बजारमा बिक्री गरेको घटनामा पनि मुछिएका थिए ।