विदेशमा बस्नुहुन्छ ? नेपालको जग्गा अर्कैले बेचिदेला नि !

काठमाडौं, चैत ८  -विदेशमा रहेकी महिलाको जग्गा किर्ते कागजपत्रका आधारमा बेचेको अभियोगमा दुई जना पक्राउ परेका छन्। 
बर्दियाकी निर्मला थापाको काठमाडौं सुन्दरीजलमा रहेको ७ आना जग्गा बेचेको अभियोगमा केन्द्रिय अनुसन्धान व्युरोले ताराकुमार बस्नेत र राधिका थापालाई पक्राउ गरेको हो। थापा विदेश गएको मौका पारेर उनीहरुले नक्कली नागरिकता र नक्कली लालपूर्जा बनाएर अर्कैको नाममा जग्गा बेचेको व्युरोले जानकारी दिएको छ। उनीहरुले नक्कली लालपुर्जाका आधारमा अधिकृत वारेसनामा प्रमाणित गरी रामबहादुर कार्कीको नाममा २०६६ फागुन २० गते जग्गा नामसारी गरेका थिए। 
किर्तेका योजनाकार संजिव खडकानै रामकुमार कार्की बनेका थिए। व्युरोले उनलाई फागुन ३० गते पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार खड्काले जग्गा आफ्नो नाममा नामसारी गराएर झापा जुरोपानी-१ की साबित्रा घिमिरेलाई २२ लाख रुपैयाँमा बेचेका थिए। 
प्रहरीका अनुसार बस्नेत सो प्रकरणको मुख्य योजानकार हुन्। उनलाई व्युरोको प्रहरीले कोटेश्वरबाट र नक्कली नागरिकताका आधारमा सुनिता बस्नेत बन्ने थापालाई कटुञ्जेबाट पक्राउ गरेको हो। व्युरोले दुबैलाई कारबाही तथा थप अनुसन्धानका लागि बुधवार महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ।