आरसिटीको पहिलो जितमा पुलिस निराश


काठमाडौं, चैत ५ - (नागरिक)- म्याकडोयल्स आरसिटीले साविक विजेता नेपाल पुलिस क्लबलाई सुपर लिगमा आइतबार पहिलो चरणको बदला लिएको छ। पहिलो चरणमा पुलिसलाई नतिजा सुम्पेको आरसिटीले १-० को जित दर्ता गरायो। पहिलो चरणमा पुलिसले १-० कै अन्तरमा विजय हासिल गरेको थियो। सुपर लिगमा आरसिटीको यो पहिलो जित हो भने पुलिसको पहिलो हार।





आरसिटीको जितमा राष्ट्रिय टोलीका स्ट्राइकर अमर डंगोलले ३२ औं मिनेटमा दर्शनीय गोल गरे। पेनाल्टी बक्स भित्र पाँच रक्षकबाट घेरिएका अमरले प्राप्त बल नियन्त्रणमा लिदै गोल गरे। उनको गोलमा पुलिसका गोलकिपर रितेश थापा प्रतिक्रियाविहिन भएका थिए। अमरलाई रक्षकहरुले खुला छोडेका कारण गोलको अवसर जुरेको पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठको ठम्याई थियो। 'उनलाई 'ओपन' छोडेकै कारण गोल भएको हो,' श्रेष्ठले थपे, 'हामीले सुरुबाटै दबाब दिन सकेनौं। आरसिटी विस्तारै सेट हुँदै गयो।'
जितसँगै आरसिटीले पुलिस र एनआईबिएल फ्रेन्डससँग समान २९ अंक जोडेको छ। गोलअन्तरमा फ्रेन्ड्स पाँचौं, हेड टु हेडका आधारमा आरसिटी छैटौं र पुलिस सातौं स्थानमा छन्। सुपर लिगमा फ्रेन्ड्सले कसैसँग नखेलेकाले टोलीको स्थान गोलअन्तरले निर्धारण गर्दा आरसिटी र पुलिसको भने हेड टु हेडका आधारमा स्थान तय भएको हो। लिगको निर्णय हेड टु हेडका आधारमा गरिने भएपनि त्यसमा पहिलो चरणको नतिजा नजोडिने नियम छ। सुपर लिगमा दुवै खेल हारेको आर्मी पुछारमा झरेको छ।
'सुपर लिगको पहिलो खेल हामीले राम्रो खेल्न सकेनौं। त्यसपछि सुधार भैरहेको छ,' प्रत्येक खेलमा सुधार भइरहेको बताउदै आरसिटी प्रशिक्षक मधु कार्कीले भने, 'आगामी खेलमा अझै राम्रो गर्छौं।'
सात खेलपछि आरसिटीको पोस्ट सम्हालेका गोलकिपर दीलिप क्षेत्रीसँगै रक्षापक्तिको प्रदर्शनबाट खुसी देखिएका कार्कीले थपे, 'आज पुलिसलाई हामीले खेल्न दिएनौं। रक्षापंक्ति संगठित थियो। दीलिपले पनि राम्रो खेले।'
कार्कीको भनाईमा सहमति जनाउँदै पुलिसका प्रशिक्षक श्रेष्ठले भने, 'आरसिटीले दिन प्रतिदिन राम्रो गर्दै आएको छ। उनीहरुलाई बधाई छ। हामीले हल्का खेल्यौ। समन्वयमा अभाव रह्यो।'
श्रेष्ठले लिगमा दोस्रो हुने सम्भावना अझै जीवित रहेपनि आरसिटीसँगको हारले दबाव बढेको बताए। 'हाम्रो लक्ष्य दोस्रो हुने हो। तर, त्यो पनि सहज छैन। आजको हारले फरक पर्छ,' उनी आशावादी देखिए, 'धेरै ठुलो अन्तर छैन। अझै ४ खेल बाँकी रहेकोले केही भन्न सकिन्न।'
पुलिसले सुरुआतमै गोल गर्ने अवसर चुकाउँदा खेलभर दबाब झेल्नुपर्योभ। १६ औं मिनेटमा जुमानु राईले फिलतो प्रहार गर्दा दीलिपले सहजै रोके। जुमानुले नै ३६ औं मिनेटमा गरेको अर्को प्रहार पनि दीलिपले बचाए। मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा रविन श्रेष्ठले हेडमा मिलाइदिएपछि चेतन घिमिरेले हेड गरेको बल बार नजिकबाट बाहिरीयो। खेल सकिन तीन मिनेट बाँकी रहँदा पर्वत पाण्डेले झन्डै २५ यार्ड बाट प्रहार गरेको फ्रि-किक दीलिपले फर्काए।
आरसिटीले पनि दुई मौका खेल फाल्यो। २५ औं मिनेटमा कोमल खवासको पासमा भिम दर्लामीको प्रहार रितेशले बचाए। ६८ औं मिनेटमा अमरको लामो प्रहारमा बल पोस्ट नजिबबाट बाहिरियो।