माग पुरा नभए निर्वाचनमा नजाने कर्मचारीको चेतावनी


काठमाडौं, चैत ६ (नागरिक) - नेपाल निजामति कर्मचारी युनियनले सरकारले आफ्नो माग पुरा नगरे आगमी निर्वाचन भाँडने चेतावनी दिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि युनियनले आफुहरुको माग पुरा गर्ने गरी सरकारले प्रस्तुत अध्यादेश स्वीकृत नभए निर्वाचन हुन नदिने चेतावनी दिएको हो।






कार्यक्रममा उनीहरुले निजामति सेवा ऐन अनुसार दफा २४ घ को १ अनुसार बढुवा भएका र स्वास्थ्य सेवा ऐन अनुसार स्तरबृद्धि भै पदभार पाएका कर्मचारीहरुको व्यवस्थापन गरी बढुवा प्रणालीलाई व्यवस्थित बनाउनका लागी निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संशोधनको अध्यादेश राष्ट्रपतिकोमा रोकिएर रहेको भन्दै तत्काल स्वीकृत नगरिए सशक्त आन्दोलनमा जाने चेतावनी दिए। यसअघि निर्वाचन आयोगले आइतबारमात्रै मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटी चुनावका लागि २ लाख कर्मचारी चाहिने बताएको थियो।


कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले निजामती कर्मचारीहरुको मागलाई सम्बोधन नगरी चुनावको दिवा सपना नदेख्न चेतावनी दिए। उनले आफ्ना मागलाई पुरा नगराई जोखिम मोलेर चुनावमा नजाने बताए। 'कर्मचारीले चाहे मात्रै चुनाव हुन्छ,' उनले भने 'त्यसका लागि सरकारले निजामती कर्मचारीको पदमा बृद्धि गरेको र तलब बढुवा अनुसार दिए पनि काम दिने लगायतका सबै माग पुरा गर्नुपर्छ।'