'पाँच वर्षभित्र मुटु-फोक्सोको पनि प्रत्यारोपण’
|
भक्तपुर, फाल्गुन ३ - मानव अंग प्रत्यारोपण केन्द्रले पाँच वर्षभित्र मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज र रक्तमासी प्रत्यारोपण गरिने बुधबार जनाएको छ । सय शय्या क्षमताको केन्द्रले सुरुवात हालै दुई जनाको मृगौला प्रत्यारोपणबाट गरेको हो । तथ्यांकअनुसार विश्वमा बर्सेनि साढे तीन हजार मुटु प्रत्यारोपण हुने गरेको छ भने करिब आठ लाख व्यक्तिको मुटु समस्याले प्रत्यारोपण गर्ने अवस्था हुन्छ । छिमेकी राष्ट्र भारतमै ६० भन्दा बढी मुटु प्रत्यारोपण हुने गरेको छ । 'दोस्रो चरण अन्तर्गत कलेजो, प्यांक्रियाज र रक्तमासी प्रत्यारोपण गर्ने लक्ष्य लिएका छौं,' केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले भने, 'कलेजोलगायत प्रत्यारोपणका लागि विज्ञलाई यसै वर्ष प्रशिक्षणमा पठाउने तयारी गर्दै छौं ।' दुई वर्ष भित्र कलेजो, प्यांक्रियाज र रक्तमासी प्रत्यारोपण थालिने उनले बताए । मुलुकमा बर्सेनि तीन हजार जनाको मृगौला फेल हुने गरेको छ । केन्द्रका अनुसार यसले करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको छ । यस्तै, बर्सेनि हजारभन्दा बढीको कलेजो फेल हुनुका साथै करिब ३० लाख मधुमेहका रोगीमध्ये थुप्रैले प्यांक्रियाज प्रत्यारोपणबाट लाभान्वित हुने सम्भावना डा.श्रेष्ठ औंल्याउँछन् । हालसम्म मुलुकमा मुटु र फोक्सो फेल हुनेको संख्या अनुमान गर्न सकिएको छैन । भारतमा भने मुटु, कलेजो, फोक्सो, प्यांक्रियाज, सानो आन्द्रा लगायतको प्रत्यारोपण हुन्छ । एक जना मस्तिष्क मृत्यु भएकाबाट दुई जनालाई आँखा, दुई जनालाई मृगौला, एक जनालाइ मुटु र एकभन्दा बढी व्यक्तिलाई कलेजो, फोक्सो एवं प्यांक्रियाज प्रत्यारोपण गर्न सकिने स्वास्थ्य सचिव प्रा.डा.प्रवीण मिश्र बताउँछन् । मस्तिष्क मृत भएका दाताबाट दानका लागि अंग प्राप्त भए पनि यसलाई निर्धारित समयमै आवश्यक व्यक्तिमा प्रत्यारोपण गर्नु पर्ने भएकाले अंग प्रत्यारोपण केन्द्र आवश्यक हुन्छ । अंग पाउनु र प्रत्यारोपण गर्नुबीचको समयसीमा मुटुका लागि ६ घन्टा, कलेजो र प्यांक्रियाजका लागि आठदेखि १२ घन्टा र आँखाका लागि २६ देखि ४८ घन्टा हो । यो समयसीमापछि अंग दान एवं प्रत्यारोपण बेकाम हुन्छ ।
|




