सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौं, फागुन ६ (नागरिक) - अमेरिकी सहित अन्तर्राष्ट्रिय बजारमा भाउ कम भएपछि नेपाली बजारमा पनि यो साता सुनचाँदीको भाउमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमै भाउ घटेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



महासंघका सदस्य सचिव मणिकरत्न शाक्यका अनुसार साताभरमा नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँले कम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३ डलरले घटेपछि आइतबारको तुलनामा नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ कम भएको हो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको भाउ प्रतिऔंस १ हजार ६ सय ६६ डलर ५३ सेन्ट रहेको थियो। शुक्रबार घटेर यो दर १ हजार ६ सय ३३ डलर १७ सेन्टमा झरेको छ। यो भाउ नेपाली बिक्रेताले मूल्य तय गर्ने बिहान ११ बजेको हो।

शनिबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा थप गिरावट आएको छ। शनिबार साँझ अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ६ सय १० डलर ३३ सेन्टमा झरिसकेको छ। यसल आइतबार मूल्यमा थप गिरावट आउने सम्भावना छ।

साताभरमा चाँदीको मूल्यमा पनि अन्तर्राष्ट्रिय बजारमा १ डलरभन्दा बढीले कमी आएको छ। त्यसको असर स्वरुप नेपाली बजारमा पनि चाँदीको मूल्यमा गिरावट आएको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको भाउ प्रतिऔंस ३१ डलर ४१ सेन्ट भएका बेला नेपालमा मूल्य तोकिएको थियो। शुक्रबार भने यो भाउ घटेर प्रतिऔंस ३० डलर ३३ सेन्ट भएका बेला मूल्य तोकिएको हो।

नेपाली बजारमा आइतबार सुन तोलाको ५८ हजार ३ सय २ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने घटेर ५७ हजार ५ सय ३ रुपैयाँमा कारोबार भयो। यसैगरी आइतबार तोलाको १ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १ हजार ९० रुपैयाँ तोलामा कारोबार भयो।

बार  सुनको भाउ (तोलामा)  चाँदीको भाउ(तोलामा)

आइतबार  ५८ हजार ३ सय २  १ हजार १ सय १५
सोमबार  ५८ हजार ३ सय २  १ हजार १ सय १५
मंगलबार ५७ हजार ८ सय  १ हजार ९९
बुधबार  ५७ हजार ९ सय  ११ सय ५
विहिबार  ५७ हजार ८ सय  १ हजार ९९
शुक्रबार  ५७ हजार ५ सय ३  १ हजार ९०