दक्षिण अफ्रिकी खेलाडीद्वारा प्रेमिकाको हत्या



जोहानसवर्ग , फाल्गुन ४ - दक्षिण अफ्रिकाको प्रहरीले पारालम्पिक च्याम्पियन २६ वर्षे ओस्कार पिस्टोरियसविरुद्ध हत्याको उजुरी दर्ता गरेको छ । उनीमाथि मोडेल एवं केटीसाथी ३० वर्षे रिभा स्टिनकाम्पलाई गोली हानी हत्या गरेको आरोप लागेको छ । उनको टाउको, छाती र पाखुरामा गोली लागेको थियो । घटनास्थलबाट नौ एमएमको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
पिस्टोरियसले आफ्नै निवास पि्रटोरियामा भूलवश चोर सम्झेर गोली चलाएको सुरुआती खबरहरूमा जनाइएको छ । खेलाडी प्रेमीलाई भ्यालेन्टाइन डेको सरप्राइज दिन खोज्दा यो घटना भएको अड्कल काटिएको
छ ।  'ब्लेड रनर' को नामले चर्चित उनले कृत्रिम अंगको सहयोगले लन्डन ओलम्पिकको दौड प्रतिस्पर्धामा भाग लिएर इतिहास रचेका थिए । बाल्यकाल छँदै उनको दुइटै खुट्टा काट्नुपरेको
थियो । उनी चार पटक पारालम्पिक च्याम्पियन रहिसकेका छन् । उनलाई दक्षिण अफ्रिकी आइकनहरूमध्येका एक मानिन्छ । त्यसैगरी खुल्ला हृदय र मिजासिलो व्यवहारका कारणले रिभा मित्रजनबीच निकै लोकप्रिय छिन् ।