कुखुराको सुलीबाट बिजुली उत्पादन गर्ने



 कुखुरा व्यवसायको हिसाबले राजधानी मानिने चितवनमा यसको सुली प्रयोग गरेर बायोग्यासमार्फत बिजुली निकालिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यसको सफल परीक्षण गरिसकेकाले यहाँ काम सुरु गरिएको जानकारी दिएको छ ।
गएको वर्ष पूर्वी चितवनको चैनपुर गाविसअन्तर्गत ज्यामिरेमा प्राविधिकहरूकुखुरा को सुलीको प्रयोगबाट बिजुली निकाल्न सफल भएका थिए ।
यो प्रयोग बाहिर विभिन्न देशमा प्रयोग भइरहेकाले नेपालमा पनि विद्युत् भार कटौतिको विकल्पको रुपमा परियोजना ल्याइएको केन्द्रका सहमहानिर्देशक समीर थापाले जानकारी दिए ।
खेर गएको सुलीबाट गरिएको परीक्षणले ५३ प्रतिशत इन्धन बचत गर्न सकिने विज्ञले बताएका छन् । यहाँको विभिन्न पोल्ट्रीफर्मले सात वर्षअघि नै सुलीको ग्यासबाट खाना पकाउने काम गरे पनि विद्युत् भने निकालिएको छैन । यसवर्ष भने वायोग्यास प्रयोग गरेर नै समुदायलाई विद्युत् प्रवाह गर्ने लक्ष्य रहेको थापाले बताए । चितवनलगायत कम्तीमा देशका विभिन्न नौ स्थानमा परियोजना सञ्चालन गर्ने केन्द्रको लक्ष्य रहेको छ ।
नेपालमा हाल १५ हजारको हाराहारीमा कुखुरा फार्म छन् । चितवनमा मात्र ५४ वटा ठूला फार्म रहेको अनुसन्धानले देखाएको छ । यहाँबाट करिब १४ मेघावाट विद्युत् निकाल्न सकिने केन्द्रले जनाएको छ ।
अहिलेसम्म वायोग्यास प्रयोग गरिएकोमा अब भने ग्यासलाई विद्युत्मा रुपान्तरण गरी समुदायमा विद्युत् सेवा दिने लक्ष्य वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लिएको थापाले जानकारी दिए ।
एसियाली विकास बैंक र विश्व बैंकले यसमा लगानी गर्ने विषयमा सम्झौता भइसकेको । कसैले गर्न चाहेमा २५ प्रतिशत अनुदान दिइने भएको छ ।कुखुरा फार्मलगायत, गाई फार्म, विभिन्न ठूला अस्पताल तथा विद्यालयमा पनि यो अभियान चलाइने केन्द्रले जनाएको छ ।
यस विषयमा अहिले देशभरी कार्यक्रम हुने स्थानको छनोट भइरहेको समेत केन्द्रले जनाएको छ । यसका लागि दुई करोड अमेरिकी डलर रकम छुट्याइएको छ ।