खिलराजलार्इ प्रधानमन्त्री बनाउने महान्यायाधिवक्ताको सुत्र
![]() |
-->
११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले राजनीतिक संविधानवादका आधारमा बाधा अड्काऊ फुकाउँदा अदालतमा प्रश्न नउठ्ने र यो न्यायिक पुनरावलोकनको विषय नहुने बताउनुभएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन अन्तरिम संविधानको धारा ३८ मा बाधा अड्काऊ फुकाउनुपर्ने र क्रमश अन्य धारामा पनि फुकाउँदै जानुपर्ने उहाँले बताउनुभएको छ ।
‘यो राजनीतिक विषयबाट उठेको बाधा अड्काऊ भएकाले राजनीतिक विषयमा अदालतको प्रश्न उठ्दैन । संविधानले गरेको अग्रगामी राजनीतिक निकास त्यो अदालतको विषय हुँदैन ।’ प्रधानले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो ।-’यो न्यायिक पुनरावलोकनको विषय हुँदैन ।’अहिले संसद् नभएकाले संविधान संशोधन गर्न नसकिने महान्यायाधिवक्ताको तर्क छ । उहाँ भन्नुहुन्छ-’ अहिले संसद् नभएकाले नेपालको अन्तरिम संविधान संशोधन गर्न सक्ने अवस्था छैन । संविधानको धारा ३८ को प्रयोजनार्थ अहिले राजनीतिक सहमतिका आधारमा बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पन र कार्यकारी अधिकारसहितको प्रधानमन्त्री बनाउन सक्ने भन्ने प्रावधानसहित बाधा अड्काऊ फुकाउनुपर्छ ।’
पहिलो धरा ३८ त्यसपछि धारा १०६ र क्रमश अन्य धाराहरुमा बाधा अड्काऊ फुकाउँदै जानुपर्ने प्रधानको तर्क छ । उहाँ भन्नुहुन्छ-’लहरै आवश्यकताअुनसार बाधा अड्काऊ फुकाउँदै जानुपर्छ । मुख्य धारा चाँहि ३८ र १०६ हुन् । क्रमशः अन्य धाराहरुमा पनि राजनीतिक सहमतिका आधारमा बाधा अड्काऊ फुकाउनुपर्छ ।’
![]() |