नेपाल वायुसेवा निगमका क्याप्टेनले १ करोड रुपैयाँ तिरेनन्

सुशील भट्टराई, काठमाडौं, असोज ८ - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चारजना वरिष्ठ पाइलट (क्याप्टेन) सँग करिब १ करोड रुपैयाँ असुल गर्न अन्तिम प्रक्रिया सुरु गरेको छ। झन्डै एक दशकदेखि ताकेता गर्दा पनि 'बोन्ड' वापतको पैसा उठाउन नसकेपछि निगम व्यवस्थापनले चार क्याप्टेनलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया सुरु गरेको हो। 
 
तालिम सकेर आएका नयाँ पाइलट लिएपछि उनीहरूलाई को-पाइलटको तालिम लिन, क्याप्टेन बन्नुअघि 'एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स' (एटिपिएल) तालिम लिन र प्रत्येक ६/६ महिनामा लाइसेन्स नवीकरणका लागि 'सिमुलेटर' गर्न निगमले लाखौं खर्चेर पाइलटलाई विदेश पठाउने गरेको छ। निगमले एटिपिएल तालिम अमेरिका र सिमुलेटर गर्न हङकङ पठाउने गरेको छ।

तालिम सकेर आएपछि सात वर्षसम्म निगम छाड्न नपाउने समय दिइएको हुन्छ, त्यसैलाई 'बोन्ड' भनिन्छ। बोन्ड अवधिभित्रै जागिर छाडे त्यसवापत्को सबै खर्च पाइलटले निगमलाई तिर्नुपर्ने हुन्छ। यो नियम निगम कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीमा उल्लेख छ। तालिम अवधिभरको तबल-भत्ता पनि पनि उपर गर्न बाँकी छ।

निगमका एक अधिकारीले वरिष्ठ क्याप्टेन कमल केसी तथा क्याप्टेनहरू तेन्जिङ लामा, सुदीप रिजाल र प्रज्वल अधिकारी चारजनाबाट करिब १ करोड रुपैयाँ असुल गर्न बाँकी रहेको जानकारी दिए। उनीहरू सबै टि्वनअटर जहाज उडाउँथे।

'तालिम सकेर आउन पाएको छैन, चारैजनाले राजीनामासमेत नदिई बिनाजानकारी जागिर छाडे,' ती अधिकारीले आइतबार नागरिकसँग भने, 'बोन्ड अवधि नगुजार्दै जागिर छाडेपछि संस्थाले खर्च असुल गर्न ताकेता गरिरहेको थियो। तर, अब केही सीप नलागेपछि अन्तिम प्रक्रिया थालिएको हो।'

उनका अनुसार चारै क्याप्टेनलाई २०६८ फागुन ४ र ५ गते जागिर छाड्नुपर्नाको स्पष्ट कारण मागिएको थियो। तर, उनीहरूबाट चित्तबुझ्दो जवाफ नआएपछि निगम सञ्चालक समितिले जागिरबाट हटाउने निर्णय गरेको थियो।

त्यसपछि सञ्चालक समितिले गत असार २९ मा चारैजनालाई 'भविष्यमा निगमको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र पैसा असुल्ने' निर्णय गरेको थियो। त्यसपछि निगमले साउन ११ मा सबैलाई बाँकी हिसाब फर्छ्यौट गर्न पत्र पठाएको थियो। तर, ठेगाना नमिलेको भन्दै हुलाकबाट पत्र फिर्ता भएको थियो।

पुनः निगमले भदौ ३१ मा उनीहरूका नाममा १५ दिने सूचना जारी गरेको थियो। उनीहरूलाई असुल गर्नुपर्ने रकम बुझाउन आउन र नआए कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ।

'निगम कर्मचारीको सेवा सर्तसम्बन्धी विनियमावलीअनुसार तालिम पूरा गरी फर्केपछि निगममा सेवा गर्नुपर्ने अवधि पूरा नगरी छाडेकाले उक्त तालिमवापत् लागेको निगमको सम्पूर्ण खर्च र उक्त अवधिभरको तलब-भत्तासमेत असुलउपर गर्नुपर्ने छ,' सूचनामा उल्लेख छ, 'बक्यौता रकम १५ दिनभित्र निगममा बुझाउनु होला अन्यथा नियमअनुसार असुलउपर गर्न कानुनी कारबाही चलाइने छ।'

सम्बद्ध एक अधिकारीका अनुसार क्याप्टेन अधिकारीसँग ३० लाख ५२ हजार २ सय ५५ रुपैयाँ, केसीसँग २७ लाख ३३ हजार २ सय ३, रिजालसँग २० लाख र लामासँग पनि लगभग २० लाख रुपैयाँजति असुल गर्न बाँकी छ।

उनका अनुसार निगम छाडेका चारैजना अहिले स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीमा जहाज उडाइरहेका छन्। केसी यती एयरलाइन्स, लामा अग्नि एयर र रिजाल दक्षिण अफ्रिकाको एक कम्पनीमा काम गरिरहेका छन्। अधिकारी पनि विदेशतिर जहाज उडाइरहेका भए पनि कुन देशमा छन् भन्ने निगमले पत्ता लगाउन सकेको छैन।

'चारैजनाको व्यक्तिगत सम्पत्ति वा जायजेथाबाट बोन्ड रकम असुल गर्छौं,' ती अधिकारीले भने, 'यसका लागि कानुनी प्रक्रिया सुरु भएको छ।' संस्थाले लाखौं खर्च गरी दक्ष बनाएपछि संस्थाप्रति उनीहरूको पनि दायित्व हुनुपर्ने उनले बताए।
'दक्ष बन्दै जाने अनि निगममा सेवा गर्नुको सट्टा बढी आम्दानी हुने भन्दै अन्य वायुसेवामा जहाज उडाउन जानुअघि एक पटक सोच्नुपर्ने हो,' उनले भने, 'बिनाजानकारी निगम छाड्दै जाने हो भने संस्थाले लगानी गर्नुको अर्थै रहेन।'