एकै डाँडामा एमाओवादी अध्यक्ष दाहाल र पूर्वराजाको बास



मनोज अधिकारी, पोखरा, असोज ९- राजनीतिकरुपमा दुई विपरीत ध्रुवका दुई पात्रको संयोग पोखरामा जुरेको छ। यसअघि कहीँकतै आमने-सामने समेत नभएका भनिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा जम्काभेटको अवस्थामा पुगेका छन्।


उनीहरु बस्ने ठाउँ र हिँड्ने बाटोसमेत एउटै परेपछि जम्काभेटको स्थिति आएको हो। यसलाई धेरैले रोचक ढंगले हेर्न चर्चाको विषय बनाएका छन्। आइतबार साँझ यस्तै भयो।
पूर्वराजा शाह विगत पाँच दिनयता धार्मिक भ्रमणका क्रममा पोखरामा छन्। फेवातालपारीको फिस्टेल लजमा बस्दै आएका उनी दिनदिनै आसपास जिल्लाहरुका मठमन्दिर घाउँदैछन्। यतिबेलै एमाओवादी अध्यक्ष दाहाल बिरामी भएपछि आराम गर्न भन्दै पोखरामै आएका हुन्। आइतबार साँझ परिवारसहित आएका उनी पनि फेवाताल पारीको पिस ड्रयागन रिसोर्टमा बसेका थिए। उनीहरु कुनै योजनाले एकै ठाउँमा बस्न आएको नभई दुवै पक्षले यसलाई संयोगमात्र मानेका छन्।

परिवारसहित आएका दाहाल सोमबार भने लेखनाथस्थित बेगनास रिसोर्टमा बास बस्न गएका छन्। बेगनास ताल घुम्ने र साँझ त्यहीँको रिसोर्टमा बस्ने गरी अध्यक्ष लेखनान गएको माओवादीका एक जिल्लास्तरका नेताले जानकारी दिए।

शाह आइतबार स्याङ्जाको धार्मिक भ्रमणबाट पोखरा फर्कने क्रममा भर्खरै आइपुगेका दाहालसँग सिद्वार्थ राजमार्गमा जम्काभेटको स्थितिमा पुगेका थिए। साँझ करिब ६ बजेतिर स्याङ्जाबाट फर्कंदै गरेका शाह र शान्ति स्तुप नजिकको रिसोर्ट जाँदै गरेका दाहालबीच सिद्वार्थ राजमार्गअन्तर्गत खाडेखोला नजिक जम्काभेटको अवस्था आएको हो। दाहाल र शाहको जम्काभेट र देखादेख भएको भन्ने हल्लालाई दुवै पक्षले निराधार भनेका छन्। दाहाललाई नीजि सुरक्षाकर्मीले र शाहलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए।

माओवादी कास्कीका जिल्ला इन्जार्च झलकपाणी तिवारीले अध्यक्ष दाहाल र पूर्वराजा शाहको राजमार्गमा आउजाउ भएको बताए। उनले त्यस्तो कुनै जम्काभेट भएको नभई राजमार्गमा ओहोरदोहोर मात्र भएको बताए।

सशस्त्र प्रहरीको कालिका गण मालेपाटनका एसपी शम्भु उप्रेतीले राजमार्गमा जोकोही ओहोर-दोहोर गर्न सक्ने भएकाले कुनै जम्काभेट नभएको बताए। उनले हल्ला गरिएजस्तो दुवै पक्षबीच कुनै जम्काभेट नभई राजमार्गमा दोहोरो आवतजावत भने भएको बताए। उनकाअनुसार शाह सशस्त्र प्रहरीको स्कर्टिङमा थिए भने दाहाल कसैलाई थाहै नदिई नीजि सुरक्षाकर्मी लिएर आएका थिए।

पूर्वराजाको टोलीमै हिंडेका स्वागत समितिका एक सदस्यले पनि एक-अर्कामा देखादेख हुने गरी जम्काभेट नभई एउटै बाटोमा दुईतर्फी आउ-जाउ मात्र भएको बताए। संयोग उनीहरु दुवै आइतबार एकै गाविसको एकै डाँडामा बास बसे। होटल मात्र फरक हो। दाहाल पुम्दीभुम्दी गाविसस्थित अनदु डाँडाको टुप्पोको रिसोर्टमा बसेका थिए भने शाह त्यही डाँडाको फेदमा रहेको फिस्टेल लजमा बसेका छन्।

साता लामो धार्मिक भ्रमणका लागि गत बिहीबार आएका शाह बुधबारसम्म पोखरै बस्ने कार्यक्रम छ। उनी परिवारका कुनै सदस्य नलिई सहयोगी सहित आएका हुन्। यता कुनै औपचारिक भेटघाट नगर्ने गरी आरामका लागि आएका दाहाल तीन दिन बसेर बुधबार फर्कने तयारीमा छन्।

दाहल पत्नी सीता, छोरी गंगा र भतिजा समीरलाई लिएर आएका हुन्। उनी विरामी भएकाले कुनै भेटघाट नगर्ने र औपचारिक कार्यक्रममा नजाने भने पनि सोमबार दुई ठाउँमा निस्किए। बिहान साढे ११ बजे पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि दवाव दिन जारी रिले अनसनमा दाहाल पुगे। त्यहाँ उनले विमानस्थल निर्माणमा आफ्नो पार्टी र सरकार गम्भीर रहेको दोहोर्‍याउँदै यसका लागि एक उच्चस्तरिय सरकारी टोली छिटै चीन जान लागेको जानकारी गराए। त्यसपछि उनी विरामी भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराईरहेका पार्टीका राज्यसमिति संयोजक डिलाराम आचार्यलाई भेट्न पुगे।

'म बिल्कुल कुनै भेटघाट नगरी आरामका लागि मात्र आएको हुँ' विमानस्थलको रिलेअनसनमा आफ्नो प्रतिवद्वता जनाउन आएका दाहालले सञ्चारकर्मीसँग भने, 'अझ दुई दिन यहीँ बस्छु तर कतै औपचारिक कार्यक्रम र भेटघाटमा जाने योजना छैन।'

उनले आफूलाई भाइरलले छोएको सुनाउँदै दुई-तीन दिनलाई राजनीतिक छलफल छोडेरै आराममा हिँडेको सुनाए। आफुले यसबारे काँग्रेस र एमालेका नेताहरुलाई जानकारी गराएको उनले बताए।

'मलाई भाइरलले छोयो,'दाहालले भने, 'डाक्टरले अहिलेको भाइरल कडा खालको छ भनेपछि काठमाडौमा राजनीतिक र व्यक्तिगत भेटघाट बढी हुने भएकाले त्यसलाई छोडेर आराम गर्न पोखरा आएको हुँ।'

उनका नीजि सहयोगी एवं भतिजा समिर दाहालले पनि अध्यक्षलाई विरामी हुँदा पनि भेटघाटबाट जोगाउनै मुस्किल भएपछि पोखरा आउनु परेको बताए। कुनै कार्यक्रम नबनाई दुई-तीन दिन बसाईमा भाइरल केही कम भएपछि फर्कने गरी आएको उनले सुनाए।