कालीगण्डकी नदीको बीचमा फसेका तीन जनाको उद्धार
|
दिलीप पौडेल, बाग्लुङ, साउन ५- बाग्लुङ नगरपालिका-१ गणेश घुम्ती नजिकै कालीगण्डकी नदीको बीचमा फसेका तीन जनालाई प्रहरी र स्थानीयले उद्दार गरेका छन्। पानीको सतह कम भएको अवस्थामा नदीको बीच टापुमा बालुवा लिन गएको ट्याक्टरसहित शुक्रबार तीन जना फसेका थिए।
नदीमा पानीको बहाब एक्कासी बढेपछि ध१त ८३ नम्बरको ट्याक्टरसहित उनीहरु फसेका थिए। ट्याक्टरमा रहेका चालक म्याग्दी भकिम्ली-२ का अमृत पुन, भकिम्ली-३ का सुमन बोहोरा, पर्वत नाङलिवाङ-२ की दिलमाया थापालाई सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कृष्ण सिवाकोटीले बताए।
नदी बीचमा फसेपछि किनारमा बालुवा निकाल्न गएकाले प्रहरीलाई खबर गरेका थिए। उद्दारको लागि प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, डिएसपी सिवाकोटी लगायतको टोली घटनास्थल पुगेको थियो। बालुवा लिन जाँदा ट्याक्टरको सानो टायरमात्र डुबेकोमा फर्किँदा पानी एक्कासी बढेपछि ट्याक्टरको अधिकांश भाग डुबेको चालक पुनले बताए। 'पानी सानो भएकाले बीच टापुमा बालुवा लिन गयौं,' उनले भने, 'फर्किँदा एकाएक पानी बढेर ट्याक्टर डुबायो।'
|




