आठ महिनामा १५ किलोमिटर सडक पिच

  • अघिल्लो वर्षको भन्दा झन्डै १४ गुणा कम

  • पिच, ग्राभल र कच्ची गरी २ सय ४५ किलोमिटर सडक

  • सडक सञ्जाल १ प्रतिशतले सवारी साधन ९ प्रतिशतले बढे

    काठमाडौ, असार ३१ - चालू आर्थिक वर्ष (आव) को पहिलो आठ महिनामा जम्मा १५ किलोमिटर सडक पिच भएको छ । अघिल्लो आवको यसै अवधिमा २ सय ५ किलो मिटर सडक पिच भएको थियो । यस अवधिमा ० दशमलव १५ प्रतिशत पिच सडक थपिए पनि सवारी साधनको संख्या भने ९ प्रतिशतले बढेको छ ।
    सडक विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखे पनि विकास बजेट खर्च हुन नसक्दा सडक निर्माणको काम धेरै प्रभावित भएको हो । अर्थ मन्त्रालयद्वारा शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणका अनुसार यस अवधिमा ४५ किलोमिटर सडक ग्राभल भएको छ । यस्तै १ सय ८५ किलो मिटर कच्ची सडक थपिएको छ ।
    'पिच, ग्राभेल र कच्ची गरी कुल २ सय ४५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भए,' सर्वेक्षणले भनेको छ । गत आवको सोही अवधिमा ३ सय ६२ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको थियो । सडक सञ्जालमा एक प्रतिशतमात्रै बाटो थपिएको छ ।
    योसँगै मुलुकभर अब ९ हजार ९ सय १७ किलोमिटर सडक पिच भएको छ । यस्तै ५ हजार ७ सय १५ किलोमिटर ग्राभल र ७ हजार ८ सय २२ किलोमिटर कच्ची सडक निर्माण भएका छन् ।
    सडक निर्माण सोचे अनुसार नभए पनि सवारी चाप भने बढेको छ । गत आवसम्म प्रतिकिलोमिटर सडकमा ५३ सवारी साधन थिए । अहिले यो बढेर प्रतिकिलोमिटरमा ५५ पुगेका छन् । चालू आवको पहिलो आठ महिनामा ८ दशमलव ६ प्रतिशत नयाँ सवारी साधन थपिएका छन् । सर्वेक्षणका अनुसार यस अवधिमा १ लाख १ हजार ७ सय सवारी साधन थपिएर कुल सवारी संख्या १२ लाख ८० हजार पुगेको छ ।
    सर्वेक्षण अनुसार मुलुकमा रेल तथा मेट्रो यातायातको विकास गर्न स्थापना भएको रेल विभागले रेल्वे निर्माण आयोजना, भारतीय सहयोगको रेल परियोजना, मेची महाकाली विद्युतीय रेलमार्ग, काठमाडौं मेट्रो आयोजना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । आव ०६१/६२ बाट सुरु भएको बाहिरी चक्रपथ विकास आयोजनामा खासै प्रगति हुन नसकेको सर्वेक्षणले देखाएको छ । नीतिगत अस्पष्टता, जग्गाधनीको असहमति र राजनीतिक प्रतिबद्धताको कमीले आयोजनाको काम अगाडि बढ्न नसकेको हो । विराटनगर चक्रपथ आयोजनामा ट्रयाक खोल्ने काम पूरा भई बाटो स्तरोन्नतिको काम सुरु भएको छ । 
    पहिलो आठ महिनामा ५० वटा झोलुंगे पुल निर्माण भएका छन् । यस्तै २१ को सर्वे डिजाइन, ५६ वटाको ठेक्का सम्झौता, फाउन्डेसन र कंक्रिटिङ ६० र ७४ वटाको लट्टठा तान्ने काम भएको छ । यस्तै यस अवधिमा स्थानीय स्तरका ७० वटा पुल निर्माणाधीन अवस्थामा छन् ।
    सहरी क्षेत्र विकास तथा बजार केन्द्र अध्ययन कार्यक्रम अन्र्तगत ६१ बजारको पूर्वाधार विकास भएको छ । यस्तै २२ वटा बजार केन्द्रको भौतिक विकास योजना कार्यान्वयन, ४ वटा क्षेत्रीय/जिल्लास्तरीय सभाहल लगायतका २ सय ६१ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् ।
    'एकीकृत घनाबस्ती कार्यक्रम अन्तर्गत कालीकोटको निर्माण काम पूरा भएको छ,' सर्वेक्षणले भनेको छ, 'अन्य पाँच जिल्ला -हुम्ला, प्यूठान, म्यादी, नुवाकोट र अछाम) मा निर्माण भइरहेको छ । जनता आवास कार्यक्रम अन्तर्गत चालू आवको ७ सय ९९ आवास एकाइ बनाउने लक्ष्यमा ९२ वटाको निर्माण सुरु भएको छ ।  काठमाडौं उपत्यकाको सुकुम्बासी बस्ती व्यवस्थित गर्न इचंगुनारायण जग्गा विकास कार्यक्रम आयोजना क्षेत्रभित्र ५ रोपनी ९ आना २ पैसा जग्गा खरिद गरेको छ ।
    ऊर्जा खपत बढ्यो चालू आवको पहिलो आठ महिनामा ८ हजार २ सय ३ टन ऊर्जा खपत भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २४ दशमलव ८ प्रतिशत बढी हो । दाउरा, कृषिजन्य अवशेष र गोवर तथा गुइँठाजस्ता परम्परागत ऊर्जा स्रोतमा नेपालको अर्थतन्त्र मुख्य रूपमा निर्भर छ । परम्परागत ऊर्जाको रूपमा रहेको दाउराको हिस्सा कुल ऊर्जा खपतमा ७७ दशमलव ३ प्रतिशत छ ।
    दाउरासहित परम्परागत ऊर्जाको हिस्सा ८६ दशमलव ५ प्रतिशत छ । कृषिजन्य अवशेष ३ दशमलव ५ प्रतिशत र पशुजन्य अवशेषको खपत ५ दशमलव ७ प्रतिशत छ ।
    यस्तै कोइला, पेट्रोलियम पदार्थ, विद्युतजस्ता व्यावसायिक ऊर्जाको हिस्सा १२ दशमलव ८ प्रतिशत छ । १० दशमलव ४ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको मात्र छ । पेट्रोलियम पदार्थको खपत २ दशमलव २ प्रतिशतले बढेर ६ लाख ४५ हजार ८ सय ६७ किलो लिटर पुगेको छ । पेट्रोलिय पदार्थ अन्तर्गत एपली ग्यासको खपत १३ प्रतिशतले बढेर १ लाख १३ हजार ६ सय ९३ टन पुगेको छ ।
    कोइला खपत गत आव पहिलो ८ महिनाको तुलनामा २४ दशमलव २ प्रतिशतले बढेर १ सय ९५ टन तेल शक्ति बरावरको छ । कुल ऊर्जा खपतमा नविकरणीय ऊर्जाको हिस्सा ० दशमलव ७ प्रतिशत छ ।
    ८ मेगावाट मात्रै बिजुली थपियो दैनिक १४ घन्टासम्म लोडसेडिङ भइरहेका बेला आठ महिनामा ८ मेगावाट मात्रै बिजुली थपिएको छ । गत आवको अन्तसम्ममा ६ सय ९७ दशमलव ८ मेगावाट विद्युत् उत्पादन भएकोमा फागुनसम्ममा आइपुग्दा यो बढेर ७ सय ५ दशमलव ६ मेगावाट पुगेको छ ।
    यस अवधिमा कुल १ हजार ९ सय ८९ किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । यस्तै ९५ हजार ८ सय १६ किलोमिटर वितरण लाइन निर्माण भएको छ ।
    तापीय विद्युत् उत्पादन, भारतबाट आयात र निजी तथा सार्वजनिक क्षेत्रको विद्युत् उत्पादनसमेत जम्मा ३ हजार ८ सय ५८ गिगावाट प्रतिघन्टा विद्युत् आपूर्ति भएको सर्वेक्षणले देखाएको छ । अघिल्लो वर्ष यस्तो आपूर्ति ३ हजार ६ सय ८९ गिगावाट थियो ।
    विद्युत् वितरण लाइन आयोजना अन्तर्गत आव ०६७/६८ सम्म करिब २ लाख घरमा विद्युत् सेवा उपलब्ध गराइएको छ । यस अवधिमा ३ सय किलोमिटर ३३ केभी लाइन निर्माण र १ सय किलोमिटर ११ केभी लाइनको काम पूरा भएको छ । आठ महिनामा बुढीगण्डकी, उत्तरगंगा, नौस्यालगाड, तमोर, कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक अध्ययनको काम पूरा भएको छ । दूधकोसी, निस्तीपनाह, गौदीखोला र खडककोट जलाशययुक्त आयोजनालाई लाइसेन्स दिइएको छ ।
    सर्वेक्षण अनुसार विद्युत् ग्राहक संख्या २ लाख बढेर २० लाख ५३ हजार पुगेका छन् । कुल विद्युत् उत्पादनमा औद्योगिक क्षेत्रमा ३७ दशमलव ४ प्रतिशत, गार्हस्थ्य क्षेत्रमा ४२ दशमलव ८ प्रतिशत, व्यापारिक क्षेत्रमा ७ दशमलव ७ प्रतिशत र विविध क्षेत्रमा १२ दशमलव १ प्रतिशत उपभोग भएको अनुमान छ ।
      


    क्र.सं.    किसिम    आर्थिक वर्ष
            २०६७/६८     २०६८/६९    आ.व. २०६८/६९ सम्म
              सम्म    सम्म थप    जम्मा    अंश (प्रतिशत)
    १.    कालोपत्रे    ९९०२    १५    ९९१७    ४२.२८
    २.    खण्डस्मित    ५६७०    ४५    ५७१५    २४.३७
    ३.    कच्ची सडक    ७६३७    १८५    ७८२२    ३३.३५
        जम्मा    २३२०९    २४५    २३४५४    १००

    source- ekantipur